परिचयः

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बि.स.२०७५ सालमा यातायात पूर्वाधार निर्देशनालयको स्थापना भई सडक तथा यातायात क्षेत्रको विकास, बिस्तार, समन्वय तथा अनुगमनको कार्य गर्दै आएकोमा बि.स. २०८० मा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यातायातका कार्य क्षेत्र विभाजित भए पश्चात मिति २०८०/०७/२२ मा यस पूर्वाधार विकास निर्देशनालयको नाम परिवर्तन भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि तोकिएको कार्य क्षेत्र भित्रका कार्यहरु कार्यान्वयन गर्न मन्त्रालय तथा मातहातका कार्यालय संग समन्वय तथा सहयोगिको भुमिकामा रहि यस निर्देशनालयले कार्य गर्दै आएको छ । सडक तथा भवनको निर्माणको लागि गुरुयोजना, मापदण्ड, नीति, कानुन तथा निर्देशिका बनाउन मन्त्रालयलाई सहयोग पुर्याउनुको साथै मन्त्रालयबाट विनियोजित बजेट तथा कार्यक्रमको तोकिएको समयमा गूणस्तरयुक्त र किफायति रुपमा सम्पन्न गर्ने र गराउने मुख्य दायित्व रहेको छ । निर्देशनालय मातहत यस प्रदेशको आठ वटै जिल्लामा सडक तथा भवन सम्बन्धि कार्य गर्न पूर्वाधार विकास कार्यालय स्थापना भई कार्यान्वयनमा रहेको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि अस्थायी रुपमा प्रादेशिक आयोजना व्यवस्थापन इकाई समेत गठन भई संचालनमा रहेको छ ।